नवकान्तिपुर संवाददाता
काठमाडौं, १० मंसिर ।
आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले तेस्रो जित निकालेको छ । आज (शुक्रबार) भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।
दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ९२ रन बनाएको थियो । मलेसियाका लागि इल्सा हन्टर ३९ रनमा अविजित रहिन् भने मास इलिएसाले १४ र युसरिना याकोपले १२ रन जोडे । नेपालका लागि सवनम राईले २ विकेट लिईन् भने कप्तान रुविना क्षेत्री, सिता राना मगर र कविता कुँवरको भागमा समान १-१ विकेट रह्यो ।
९३ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १८.२ ओभरमा ४ विकेट गुमाउदै पूरा गर्यो । नेपालको लागि सिता राना मगरले ३० रन जोडिन् भने कप्तान रुविना क्षेत्रीले २० रन बनाइन् । त्यस्तै सरिता मगर १५ रनमा अविजित रहिन् भने कविता कुँवरले १० रन जोडिन् । मलेसियाको लागि अइस्या एलिसाले १ विकेट लिईन् । पहिलो खेलमा हङकङसँग पराजित भएको नेपालले दोस्रो खेलमा भुटान र तेस्रो खेलमा कुवेतलाई पराजित गरेको थियो ।
छनोटमा ६ टिम सहभागी छन् । नेपालले पाँचौ तथा अन्तिम खेल आगामी आइतबार युएईसँग खेल्नेछ । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । यसअघि कतारसँगको तीन खेलको सिरिज नेपालले क्लिन स्वीप गरेको थियो । नेपालले टी-२० महिला विश्वकप एसिया छनोटअघि कतारसँग तीन खेलको सिरिज खेलेको थियो ।