नवकान्तिपुर संवाददाता
काठमाडौं, १० मंसिर ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै दल मिलेर देश बनाउनुपर्ने बताएका छन् । आज (शुक्रबार) बाट चितवनको नारायणी नदी किनारमा सुरु भएको एमालेको १० औं महाधिवेशनको उदघाटनसत्रमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
देउवाले संविधान पनि सबैले मिलेर बनाएको र देश बनाउने जिम्मा पनि सबैको भएकोले सबै मिलेर बनाउनु पर्ने धारणा व्यक्त गरे । देउवाले हरेक समस्याको समाधान छलफल र संवादबाट हुने भन्दै उनले अध्यक्ष केपी शर्मा ओलीसँग जेलमा पनि सँगै बिताएकाले देश बनाउन पनि मिलेर अघि बढ्नुपर्ने बताए । उनले आफूहरु परिवर्तनको आन्दोलनमा सक्रिय हुँदा जेल परेको र त्यतिवेला ओलीसँग भेट भएको सुनाए ।
देश र जनतालाई केन्द्रमा राखेर संसद्मा प्रतिनिधित्व गर्ने र संसद् बाहिर रहेका दलहरूसँग साझा धारणा बनाउँदै अघि बढ्न आफू प्रतिबद्ध रहेको उनले बताए । उनले भने, ‘सबै मिलेर संविधान बनाएका हौँ, अब देश बनाउन पनि सबै मिलेर अघि बढौँ ।’ प्रधानमन्त्री देउवाले भने, ‘हामीबीच नीतिगत विषयमा रहेका विमतिहरुलाई संविधानमार्फत् निर्धारण गरेका विधिलाई सबैले स्वीकार गर्ने पद्धति बसाल्नुपर्छ ।’

