नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ मंसिर ।

नेकपा माओवादी केन्द्रले आज देशभर पालिका सम्मेलन गर्दै छ। देशका ७५३ स्थानीय तह र आफ्ना सम्पर्क समन्वय समिति र विशेष समिति गरी माओवादी केन्द्रले कूल ७७६ वटा पालिकामा सम्मेलन गर्न लागेको हो।
यसअघि मंसिर ४ गते माओवादी केन्द्रले देशभर वडा सम्मेलन गरेको थियो। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट पालिका सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ।
शनिबार दिउँसो १ बजे अध्यक्ष प्रचण्डले एकसाथ सबै पालिका सम्मेलनलाई सम्बोधन गर्ने छन्। माओवादीको केन्द्रीय निर्वाचन आयोगका अनुसार पालिका सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधि पनि चयन गर्नेछ। प्रदेश सम्मेलन यही मंसिर २५ गतेका लागि तोकिएको छ।
प्रदेश सम्मेलनपछि माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म गर्ने कार्यसूची छ।

