नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ मंसिर।

जाजरकोटमा आज(आइतबार) बिहान भएको बस दुर्घटना परी मृत्यु हुने पाँच जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए ।
मृत्यु हुनेमा जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ वर्षीया अनिला नेपाली, रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ वर्षीय सन्ध्या मल्ल शाही, उनकी चार वर्षीय छोरी दिव्या शाही र सप्तरीका ४० वर्षीया गंगाराम यादव रहेका छन् ।
नेपालगन्जदेखि जाजरकोटको रिडीबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर जाजरकोट भेरी नगरपालिका १३ वराहचौर नजिक दुर्घटना भएको हो । घाइते मध्ये तीन जनाएको अवस्था गम्भीर रहेको छ र उनीहरुलाई थप उपचारका लागि हेलीकोप्टर मार्फत नेपालगन्ज पठाउने तयारी भैरहेको छ। अन्य घाइतेको भने जिल्ला अस्पताल जाजरकोटमा उपचार भैरहेको छ । बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको थियो ।
