नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ मंसिर।
आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत अन्तिम खेलमा नेपाल पराजित भएको छ । आज (आइतबार) भएको खेलमा नेपाल युएईसँग ४८ रनले पराजित हुन पुग्यो ।
हारसँगै नेपाल विश्वकप ग्लोबल छनोटमा पुग्न असफल भयो भने लगातार पाँच खेलमा शतप्रतिशत जित हासिल गरेको युएई ग्लोबल छनोटमा प्रवेश गरेको छ । ६ टिम सहभागी यस प्रतियोगिताबाट केवल एक टोली मात्र ग्लोबल छनोटमा स्थान बनाउने छन् । दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिंग गरेको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १२७ रन बनाएको थियो ।
युएईका लागि चामानी सेनेभिरत्नाले ५२ रनको अर्धशतकीय पारी खेलिन् भने थिर्था सतिसले ४७ रन जोडिन् । त्यस्तै कभिसा इगोडेजले २२ रनको बनाईन् । नेपालका लागि कविता कुँवरले २ विकेट लिइन् भने सबनम राई, सिता राना मगर र संगिता राईको भागमा समान १-१ विकेट रह्यो ।
१२८ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १९.४ ओभरमा अलआउट हुँदै ७९ रनमात्र बनायो । नेपालको लागि इन्दु बर्माले १५ र सिता राना मगरले १३ रन जोड्नु बाहेक अन्यले दोस्रो अंक छुन सकेनन् । युएईको लागि समाईरा धार्नीधर्काले ४ विकेट लिइन् भने चामानी सेनेभिरत्ना र खुसी शर्माको भागमा समान २-२ विकेट रह्यो ।