ओलीले धाँधली गरे भन्दै भीम रावलले गरे यस्तो ट्वीट

नेकपा एमालेको अध्यक्ष पदका दाबेदार भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले धाँधली गरेको आरोप लगाएका छन्। पार्टीको दसौँ महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्द सत्र रोकेर अन्यत्रै बसेर सर्वसम्मतिका लागि दबाब सिर्जना गरेपछि रावल आक्रोशित भएका हुन्।

शुक्रबार महाधिवेशन उद्घाटन गरेर आइतबार सक्ने योजना भए पनि महाधिवेशनमा ओलीले जबरजस्ती सर्वसम्मतको प्रयास गरिरहेको भन्दै रावलले आक्रोश व्यक्त गरे। उनले एक ट्वीट गर्दै भनेका छन्, -‘अन्तै बसेर पार्टी विधि, पद्धति र निर्णयविपरीत गएर निर्णय गर्ने काम भएको छ। यसले निर्वाचनको प्रक्रियामा धाँधली गर्नुका साथै प्रतिस्पर्धाको राजनीतिलाई निषेग गर्ने काम भयो।’



ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका रावलका लागि भोट माग्‍ने कार्यकर्तामाथि पनि आइतबार बिहान दुर्व्यवहार गर्दे बन्द सत्र स्थलबाट बाहिर निकालिएको थियो। अध्यक्ष ‌ओलीले आफू सर्वसम्मत अध्यक्ष हुने योजना अनुसार सौराहाकै पार्क सफारी रिसोर्टमा नयाँ पदाधिकारी र केन्द्रीय सदस्यको सूची बनाइरहेका छन्। बन्द सत्रको दोस्रो दिन आइतबार हालसम्म पनि सुरु भएको छैन। सौराहाकै होटल सेभेन स्टारमा भइरहेको बन्दसत्र अब राति ७ बजे मात्रै सुरु हुने र ओलीले चयन गरेका पदाधिकारीहरुको नामावली पढेर सकिने गरी तयारी भइरहेको स्रोतले जनाएको छ।

तर, रावल भने चुनावी मैदानमा प्रतिस्पर्धा गर्नका लागि ३२ पृष्ठको चुनावी बुकलेट नै बनाएर प्रचार गरिरहेका छन्। ओलीले रावलसँग सहमतिका लागि पनि कुनै छलफल गरेका छैनन्।

सम्बन्धित समाचार