नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ मंसिर ।
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी भएको छ । आइतबार राति भएको खेलमा सेभिया रियलसँग २-१ ले पराजित हुन पुग्यो ।
रियलको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको १२ औं मिनेटमा राफा मिरले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए ।तर खेलको ३२ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ८७ औं मिनेटमा भिनियस जुनियरले गोल गर्दै रियललाई २-१ को जित दिलाए ।
जितसँगै रियल १४ खेलमा ३३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने समान खेलमा २८ अंक जोडेको सेभिया चौंथो स्थानमा रहेको छ । त्यसैगरी ला लिगा अन्तर्गत नै आइतबार राति भएको अर्को खेलमा एट्लेटिको मड्रिडले क्याडिजलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै १४ खेलमा २९ अंक जोडेको एट्लेटिको तालिकाको दोस्रो स्थानमा रहेको छ ।