मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने, एमाले सहभागी नहुने

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज(मंगलबार) विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता शाही निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले असोज १५ गते राजीनामा दिएपछि १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थानुसार आज उनले विश्वासको मत लिन लागेका हुन् ।



प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) भने अनुपस्थित रह्का छन् । एमालेको मङ्सिर १० गतेदेखि चितवनमा जारी १०औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन सौराह पुगेका कारण आफूहरु सहभागी हुन नसक्ने प्रदेशसभामा एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए।मुख्यमन्त्रीले विश्वासको मत नलिँदा संवैधानिक जटिलता आउने भएकाले बैठक नरोकिने कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले जानकारी दिए । प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भए पनि बैठक अगाडि बढ्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार