नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ मंसिर ।

सर्वोच्च अदालतको इतिहासमा पहिलोपटक गोलाप्रथाद्वारा पेसी तोकिएको छ । आज (बुधबार)बाट गोलाप्रथाद्वारा पेसी तोकिएको हो । पेसी व्यवस्थापन समितिका तर्फबाट आज ११ इजलास गठन भएका छन् । आजको लागि ९ वटा संयुक्त इजलास र दुईवटा एकल इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ ।
जसमा न्यायाधीशद्वय मीरा खड्का र डा.कुमार चुडालको एकल इजलास गठन भएको छ । त्यस्तै न्यायाधीशहरु हरिकृष्ण कार्की र सुष्मालता माथेममा, हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठ, विश्वम्भरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र डा. मनोज शर्मा, अनिलकुमार सिन्हा र कुमार रेग्मी, प्रकाशमानसिंह राउन र हरि फूयाल, सपना प्रधान मल्ल र प्रकाश ढुंगाना, जबहादुर केसी र नहकुल सुवेदीको लागि संयुक्त इजलास तोकिएको छ । एउटा रिटमा पुरानो फैसलामा भएको त्रुटिको संशोधनका लागि दुईजना न्यायाधीश दोहोरिएका छन् ।
आज १८ जना न्यायाधीश सर्वोच्चमा उपस्थित भएका छन् । गत मंसिर ९ गते बसेको बैठकले मंसिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ । आजबाट सर्वोच्चमा गोलाप्रथा लागू भए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ ।

