नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ मंसिर ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा मालेका महासचिव सिपी मैनाली राप्रपाको अध्यक्ष हुने तयारी गर्दै गरेको बताएका छन् । आज (बुधबार) राप्रपाको महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले मैनालीलाई कटाक्ष गरेका हुन् ।
प्रचण्ड भन्दा अगाडी सम्बोधन गरेका मैनालीले सम्बोधनका क्रममा राजा महेन्द्र राष्ट्रवादी भएको भन्दै प्रशंशा गरेपछि प्रचण्डले उनीमाथि कटाक्ष गरेका हुन् । ‘तपाईँहरूको र हाम्रो विचार र मत त्यति मिल्दैन । तर, राष्ट्रियभावना, स्वाधीनताप्रतिको निष्ठा र देशभक्ति एउटै छ, त्यसअर्थमा तपाईँहामी उस्तैउस्तै गोत्र भनेको थिएँ मैले । हाम्रो विचार र दर्शन मिल्दैन’, प्रचण्डले भने ।
त्यस्तै प्रचण्डले भने ‘मैनालीले नै राजतन्त्र सिध्याउनुपर्छ भनेर टाउको काट्ने सुरुवात गरेको भन्दै अहिले तपाईँहरुको अगाडि महान राजा पनि भन्नुभयो । मलाई त लाग्यो उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुँदो रहेछ । साँचै त्यसै हो भने सीपीजीलाई बधाई छ ।’

