नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ मंसिर ।

दोलखामा एउटै परिवारका ३ जना मृत फेला परेका छन्। जिल्लाको तामाकोशी गाउँपालिका–२ झुलेमा एकै परिवारका ३ जना सुतेकै अवस्थामा मृत फेला परेका हुन्। मृत अवस्थामा फेला पर्नेमा झुलेका २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २६ वर्षीया अम्बिका तामाङ र उनका ५ वर्षीय नाबालक छोरी छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार उनीहरु बुधबार बिहान मृत फेला परेका हुन्। स्थानीयले दिएको सूचनापछि छौंडे प्रहरी चौकीबाट प्रहरी टोली खटिएको थियो। पछि जिल्ला प्रहरी कार्यालय चरिकोटबाट समेत प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालयका एक अधिकृतका अनुसार मृतकमध्ये अम्बिका पाँच दिनकी सुत्केरी थिइन्।
प्रारम्भिक अनुसन्धानमा उनीहरुको मुत्यु निस्सासिएर भएको पाइएको प्रहरीको भनाइ छ। यद्यपि मृतकको पोस्टमार्टम गर्न भने गर्न बाँकी नै रहेकाले अहिले मृत्युको कारण यकिन हुन नसकेको प्रहरीको भनाइ छ।
