प्रधानन्यायाधीशले अस्पतालबाटै अदालत चलाएको भन्दै बारले निकाल्यो यस्तो विज्ञप्ति

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले अस्पतालमा उपचाररत रहेको अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले असंवैधानिक रुपमा अदालत चलाउन खोजेको आरोप लगाएको छ। बारले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा १२९(६) बमोजिम बिरामी भएको समयमा स्वतः वरिष्ठतम् न्यायाधीशले कायममुकायम भइ कार्य सञ्चालन गर्ने, गर्नुपर्ने व्यवस्थाको कार्यान्वयनमा राणाले अवरोध सिर्जना गरेको बताएको छ। अदालतमा उपस्थित हुन नसकेका व्यक्तिले नै आफैं प्रधानन्यायाधीश नै हुँ भनेर पेसी तोकेर असंवैधानिक कार्य गरेको बारले आरोप लगाएको छ।

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सशस्त्र प्रहरी अस्पतालमा उपचाररत राणाले मंगलबार अस्पतालबाटै पेसी तोकेका थिए। राणाले कसैलाई कायममुकायमको जिम्मेवारी दिएका छैनन्। बुधबार भने सर्वोच्चका न्यायाधीशहरुले गोलाप्रथा प्रणालीअनुसार पेसी तोकेका थिए, तर मुद्दा भने हेरेनन्।



मंगलबार राणाले अस्पतालबाटै तोकेको पेसीलाई असंवैधानिक भनेको छ। नेपालको संविधानको धारा १२९ (६) ले प्रधानन्यायाधीशको पद रिक्त भएमा वा कुनै कारणले प्रधानन्यायाधीश आफ्नो पदमा रही काम गर्न असमर्थ भएमा वा बिदा बसेको वा नेपाल बाहिर गएको कारणले प्रधानन्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा सर्वोच्च अदालतको बरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भइ काम गर्ने भन्ने व्यवस्था छ। तर, राणाले संविधानको उक्त व्यवस्थाको उल्लंघन गरेको बारको आरोप छ।

कोरोना संक्रमण पुष्टि भएपछि प्रधानन्यायाधीश चोलेन्द्र राणा सोमबार साँझ देखि सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भइ उपचार गराइरहेका छन्।

 

सम्बन्धित समाचार