नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ मंसिर ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको समृद्धि, विकास र स्वाभिमानको रक्षाका लागि एमालेसँग सहकार्य गरेर अघि बढन राप्रपाका नेताहरूसँग प्रस्ताव गरेका छन् । काठमाडौंमा बुधबार आयोजित राप्रपाको महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै पोखरेलले सहकार्यको प्रस्ताव गरेका हुन् ।
पोखरेलले जुनसुकै विचारधारामा उभिएको भएपनि राजनीतिक दलहरूले राष्ट्रलाई सर्वोपरी ठानेर अघि बढनुपर्ने बताए । उनले भने ‘हामी राजनीतिक विचारमा जुनसुकै ठाउँमा उभिएको हौँ । एउटा कुरामा हामी सबैको ध्यान जान जरुरी छ । देशभन्दा ठूलो अरु केही हुन सक्दैन । देश हाम्रो लागि सर्वोपरी हो ।’
उनले एमालेले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न प्रयास गरिरहेको दाबीसमेत गरे । सरकार र सत्तारुढ पाँचदलीय गठबन्धनले मुलुकको राष्ट्रिय स्वाभिमानलाई लत्याएको उनको आरोप छ । भारतीय सीमा सुरक्षा बलले तुईन काटेर नेपाली नागरिकको हत्या हुँदासम्म सरकारले चुईक्क बोल्न नसकेको आरोप लगाए ।

