नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ मंसिर ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन काठमाडौंमा जारी छ । हिजो भएको उद्घाटन समारोहमा अधिकांश राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना दिएका थिए । शुभकामनाको क्रममा नेताहरूले राप्रपामा कायम भएको एकता र सो पार्टीले राष्ट्रियताको सवालमा लिएको अडानको खुलेर प्रशंशा गरेका थिए । पार्टीको बन्दसत्र हिजो साँझबाट सुरू भएको छ । हाल तीन अध्यक्ष रहेका राप्रपामा यो महाधिवेशनले एकल अध्यक्षको टुंगो लगाउनेछ ।
राप्रपामा अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार नेतृत्व चयनको कार्यक्रम तय गरिएको छ । अध्यक्षको प्रतिस्पर्धामा देखिएका थापा र लिङ्देनले आ–आफ्नो टिम बनाएर प्रचारमा लागेका छन् । हालका अध्यक्ष थापा र राप्रपाका एकमात्र सांसद् लिङ्देनबीच नेतृत्वको लागि कडा प्रतिष्पर्धा हुने देखिएको छ । यद्दपि अध्यक्षको दौडबाट पछि हटेका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी भने सहमतिमा नेतृत्व चयन गर्ने प्रयासमा छन् ।
कसको सम्भावना कति ?
कमल थापा
कमल थापा खारिएका राजनीतिज्ञ हुन् । राप्रपाका पाका पुस्तामाझ उनी भिजेका छन् । साथै तीन टुक्रामा रहेका राप्रपा घटकलाई एकतामा ल्याउन उनले गरेको प्रयासलाई पनि नेताहरूले उच्च सम्मान गर्ने गरेका छन् । साथै केपी ओलीको अघिल्लो कार्यकालमा उपप्रधानसहित परराष्ट्र मन्त्रालय सम्हालेका थापाले सो समयमा गरेका काम र अन्तर्राष्ट्रिय तहमा नेपालको पहिचान र अडान राख्न सफल भएको कामको धेरैले प्रशंसा गरेका छन् । साथै राजसंस्था र हिन्दु राष्ट्रप्रति उनको चट्टानी अडानले पनि राप्रपाका नेताहरू उनलाई नै अध्यक्षमा दोहोर्याउन चाहन्छन् ।
थापालाई विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्दलगायतलाई नेताको दह्रो साथ छ भने कतै पनि नखुलेका अर्का अध्यक्ष पशुपति शमशेर राणाले पनि अन्ततः साथ दिने अपेक्षा गरिएको छ ।
राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देन युवा पुस्तामा लोकप्रिय छन् । राप्रपाका तेस्रो तहका नेता लिङ्देनले राप्रपालाई समयसापेक्ष परिमार्जन गर्न युवा पुस्ता नेतृत्वमा आउनुपर्ने बताउँदै आएका छन् । लिङ्देनको टिममा धवलशमशेर राणा, जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमिल्सना, भाष्कर भद्रा, रेखा थापालगायतलाई समेट्न प्रयास भइरहेको छ । अध्यक्ष डा लोहनी लिङ्देनको पक्षमा खुलेका छन् भने उनलाई पूर्व राजा ज्ञानेन्द्र शाहको पनि साथ रहेको चर्चा छ ।
के चाहन्छन् पूर्व राजा ?
पूर्व राजा ज्ञानेन्द्र शाहाले राजसंस्थाको ओकालत गर्दै आएको राप्रपाका हरेक गतिविधिलाई नजिकबाट नियाल्ने मात्र होइन, आन्तरिक रूपमा यो पार्टीप्रति सद्भाव र शुभेक्षा पनि राख्ने गरेको पाएइको छ । महाधिवेशन चलिरहँदा र अध्यक्षमा दुई पुस्ताको भिडन्त भइरहँदा पूर्वा राजाले युवा पुस्तामा लोकप्रिय मानिएका लिङ्देनलाई नै अध्यक्षमा ल्याउन चाहेको बताइन्छ । लिङ्देन नेतृत्वमा आए पछिल्लो समय राजतन्त्रबारे लचिलो देखिएको विवेकशील साझासँग एकता हुन सक्ने र राजावादीहरू थप सशक्त बन्न सक्ने शाहको अपेक्षा छ ।।

