यी १६ जिल्लामा काँग्रेसको अधिवेशन स्थगित

अधिवेशन १४औँ महाधिवेशनपछि हुने

नेपाली काँग्रेसले बिहीबारसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन १४औँ महाधिवेशनपश्चात् समितिले निर्धारण गरेको कार्य तालिकाअनुसार गर्ने निर्णय हो । काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत हालसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन सम्पन्न गरेको भने १६ जिल्लाको अधिवेशन हुन बाँकी रहेको गरेको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।



पार्टीको क्रियाशील सदस्यता लगायतको विवादका कारण सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, नवलपुर (बर्दघाट सुस्ता पूर्व), बाँके, अछाम, कैलाली, तथा प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा काँग्रेसको जिल्ला अधिवेशन हुन बाँकी छ ।

यसबाहेक काँग्रेसले महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनबाहेक सबै जिल्लाका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ । साथै देशभरका सबै वडा र पालिकामा पार्टीको अधिवेशन सम्पन्न भइसकेको छ । काँग्रेसले आजदेखि सातै प्रदेशमा पार्टीको प्रदेश अधिवेशन प्रारम्भ गर्दै छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकै पटक उद्घाटन गर्ने जनाइएको छ । प्रदेश नं १ को अधिवेशन विराटनगरमा, प्रदेश नं २ को अधिवेशन जनकपुरमा, वाग्मती प्रदेशको अधिवेशन हेटौँडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको अधिवेशन भैरहवामा, कर्णाली प्रदेशको अधिवेशन सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुने पार्टी कार्यालयले जनाएको छ । काँग्रेसले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो । प्रदेश अधिवेशनले सात वटै प्रदेशमा प्रदेश समिति चयन गर्नेछ ।

 

सम्बन्धित समाचार