राप्रपा महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहको चासो कति ?

नेपालको प्रमुख राजावादी मानिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनबारे पूर्वराजा ज्ञानेन्द्र शाहको पनि चासो रहेको भन्ने चर्चाहरू चलिरहेका छन् ।कतिपय सञ्चारमाध्यमले शाहले उक्त महाधिवेशनबाट चयन हुने नेतृत्वप्रति निकै चासो राखेको भन्ने विवरणका समाचारहरू पनि सम्प्रेषण गरिरहेका छन्।

राजतन्त्रको पक्षमा उभिएको प्रमुख दल भएकाले राप्रपाको महाधिवेशनप्रति निर्मल निवासको चासो र चिन्ता दुवै रहेको भन्ने कतिपयको विश्लेषण छ। यद्यपि उनका सचिवले चाहिँ कुनै एउटा पार्टी विशेषबारे भन्दा पनि पूर्वराजाले ‘समग्र देशको चिन्ता र चासो राखेको’ बताएका छन्।



राप्रपा महाधिवेशन

राप्रपाका नेताहरू के भन्छन्?
एकता महाधिवेशन गरिरहेको राप्रपाका कतिपय नेताहरूले ज्ञानेन्द्र शाहले पनि ‘चनाखोपूर्वक महाधिवेशनलाई हेरिरहेको हुनसक्ने’ बताएका छन्। तर उनले यो उम्मेदवार हुनुपर्छ वा यसलाई जिताउनुपर्छ भन्ने चाहना नराखेको नेताहरूको भनाइ छ।

राप्रपाका प्रवक्तासमेत रहेका र महाधिवेशनमा हालका एकजना अध्यक्ष कमल थापाको प्रतिस्पर्धी वर्तमान महामन्त्री राजेन्द्र लिङ्देनको समूहमा रहेका मोहन श्रेष्ठ पनि त्यस्तै मत राख्नेमा पर्छन्। बीबीसीसँगको कुराकानीमा उनले भने, ‘राप्रपा भनेको यो देशमा घोषित रूपमा राजसंस्था चाहिन्छ भन्ने एउटा मात्र पार्टी भएको हुनाले राजाले यो महाधिवेशनलाई चनाखोपूर्वक हेरिरहनुभएको होला, तर राजाले यही उम्मेदवार हुनुपर्छ भन्ने चाहिँ भन्नु भएको छैन।’

महाधिवेशनमा कमल थापाको पक्षमा खुलेर लागेका राप्रपाका एकजना पुराना नेता बुद्धिमान तामाङले राजाले महाधिवेशनमा मात्र नभई समग्र देशबारे चिन्ता र चासो लिने गरेको बताए। उनले भने, ‘यहाँ राजसंस्था पुनर्स्थापना हुनुपर्छ भनेर माग गरिरहेको मान्छेहरूको बीचमा फलानो चाहिँ यो उम्मेदवार भन्दाखेरि त आफैँ कमजोर बन्ने कुरा हो। कुनै उहाँ (पूर्वराजा) को छेउछाउको मान्छेले आफ्नो व्यक्तिगत स्वार्थले भन्नुहोला, तर राजाबाट त्यस्तो कुरा हुनसक्दैन।’

‘कुनै पनि हालतमा तँलाई मेरो समर्थन भन्ने, तँलाई छैन भन्ने कुरासम्मको स्थिति पनि छैन र त्यो हुँदा पनि होइन।’ बीबीसीले लिङ्देनलाई नै समर्थन जनाएका राप्रपाका एकजना अध्यक्ष प्रकाशचन्द्र लोहनीलाई निर्मल निवासले कमल थापा इतरको समूहलाई समर्थन गरेको र जिताउन चाहेको भन्ने विवरणबारे प्रश्न सोधेको थियो। त्यसबारे उत्तर दिँदै उनले भने, ‘यस्ता बेकारका कुराबारे मलाई केही थाहा छैन।’

निर्मल निवासनिकट व्यक्तिको बुझाइ के छ?
बीबीसीसँग कुराकानी गरेका निर्मल निवासनिकट केही व्यक्तिका अनुसार महाधिवेशनमा प्रतिस्पर्धी मैदानमा रहेका दुवै पक्षका नेताहरूले केहीअघि छुट्टाछुट्टै रूपमा ज्ञानेन्द्र शाहलाई भेटेका थिए। तर उनीहरूले आफ्नो नाम उल्लेख गर्न चाहेनन्।

भेटघाटका क्रममा शाहले दुवै पक्षलाई शुभेच्छा दिएको तर कसैलाई पनि समर्थन रहेको वा नरहेको नबताएको बताइएको छ।पूर्वराजपरिवारसँग निकट मानिने एक संस्थाका पदाधिकारीका अनुसार शाहले कमल थापाले ‘राजतन्त्रको नाममा राजनीतिक फाइदा लिँदै गणतन्त्रवादीसँग साठगाँठ गरेको’ भन्ने ठानेको जस्तो देखिए पनि त्यसलाई कतै व्यक्त गरेका छैनन्।

त्यसैले कमल थापा र ज्ञानेन्द्र शाहबीच पनि बाहिर प्रचार गरिएजस्तो सम्बन्ध नचिसिएको तर निर्मल निवासले पुरानो पुस्ताभन्दा नयाँ पुस्ता अघि बढोस् भन्ने इच्छा राखेको हुनसक्ने ती व्यक्तिको भनाइ छ। यद्यपि अध्यक्षका प्रतिस्पर्धी थापा र लिङ्देन दुवैले कार्यकर्तामाझ आफूहरूलाई निर्मल निवासको समर्थन रहेको बताउने गरेको बुझिएको छ।

कतिपयका विश्लेषणमा शाहले ‘पर्ख र हेर’को नीति पनि लिएका हुनसक्छन् किनकि महाधिवेशनपछि आउने नेतृत्वसँग नै निर्मल निवासको पनि सहकार्य हुनसक्छ। अर्काथरीको भनाइमा चाहिँ पूर्वराजा शाहले पछिल्लो समय राप्रपाका नेताहरूभन्दा राजसंस्था पुनर्स्थापनाको माग लिएर अभियान चलाइरहेका अन्य समूहका नेताहरूलाई बढी भेट्ने गरेका छन्। त्यसले गर्दा उनको झुकाव राप्रपाप्रति कम भएको हुनसक्ने पनि ती व्यक्तिहरूको बुझाइ छ।

थापा र लिङ्देन

 

पूर्वराजाका सचिव के भन्छन्?
पूर्वराजा ज्ञानेन्द्र शाहका सचिव फणिराज पाठकका भनाइमा शाहलाई समग्र देशको चिन्ता रहेको छ। बीबीसीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘समग्र देशको चिन्ता र चासो महाराजधिराजमा छ। राखिबक्सेको छ।’

त्यसो भए कुनै एउटा पार्टी विशेषको महाधिवेशनमा उनलाई चासो छैन भन्ने तपाईँको भनाइ हो? भन्ने बीबीसीको प्रश्नमा पनि उनले सोही कुरा दोहोर्‍याए। पाठकले भने, ‘पार्टी विशेषको भन्दा पनि समग्र देशको वर्तमान परिस्थितिमा चासो र चिन्ता लिइबक्सेको छ।’ बुधवारबाट सुरु भएको राप्रपाको महाधिवेशन शुक्रवार सकिने कार्यतालिका छ।

तर कतिपय जिल्लाका प्रतिनिधिबारे विवाद हुँदा चुनावी कार्यक्रममा ढिलाइ भइरहेको बताइएको छ। राप्रपा र राप्रपा संयुक्तबीच २०७६ फागुनमा भएको एकतापश्चात् पार्टीको यो पहिलो महाधिवेशन हो। राप्रपाले महाधिवेशनमा चार हजार जनाभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको बताएको छ। महाधिवेशनबाट १४९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुनेछ। बाँकी ५० जनालाई अध्यक्षले पार्टी विधानअनुसार मनोनयन गर्न पाउनेछन्। -बीबीसी

सम्बन्धित समाचार