नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ मंसिर ।

नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनलाई लक्षित गरेर उम्मेद्वारी घोषणा गर्ने क्रमले तीव्रता पाएको छ । यसै क्रममा नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा रामचन्द्र पौडेलको प्यानलबाट जगदीश्वरनरसिंह केसीले उम्मेद्वारीको घोषणा गरेका छन् । नुवाकोट काँग्रेसको सभापतिमा २१ वर्ष नेतृत्व गरेका केसीले यस पटक प्रदेशको सभापतिमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।
जिल्ला पार्टी सभापतिको रूपमा दुई दशकभन्दा लामो नेतृत्व गरेका र पार्टीका अन्य विभिन्न भूमिकामा रहेर काम गरिसकेका केसी अनुभवी र क्षमतावान नेताका रूपमा चिनिन्छन् । उनीसँग संविधान सभाको सदस्यसमेत रहेर काम गरेको अनुभव छ । नुवाकोटबासीका हरेक दुःख सुखको सारथि बनेका केसी १४औं महाधिवेशनसम्म आइपुग्दा निकै खारिएका र सबैलाई समेटेर लान सक्ने राजनीतिक क्षमता विकास भएका नेताका रूपमा कार्यकर्ताहरूले विश्लेषण गर्न थालेका छन् ।
उक्त पदमा संस्थापन पक्षबाट इन्द्र बानियाँले उम्मेद्वारी घोषण गरेका छन् भने तेस्रो धारको रूपमा उदाएका कृष्णप्रसाद सिटौलाको प्यानलबाट भीमसेन दास प्रधानले उम्मेद्वारी दिने पक्कापक्की जस्तै भएको देखिएको छ ।

