नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ मंसिर ।

राष्ट्रपति विद्या भण्डारीबाट संसद् अधिवेशन आव्हान भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग दर्ता गर्ने तयारी भइरहेको बताइन्छ । न्यायालयको विवाद गिजोलिएपछि सत्तारुढ दलले नै महाअभियोग दर्ताको तयारी गरेको सो पार्टीनिकट सांसद्हरुको दाबी छ । कांग्रेसबाट राष्ट्रिय सभाका सदस्य रहेका राधेश्यम अधिकारी र माओवादी केन्द्रका नेता समेत रहेका राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले राणाविरुद्ध महाअभियोग दर्ताको तयारी भइरहेको बताएका हुन्।
नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य अधिकारीले महाअभियोग लगाएर पदच्यूत गर्नु संविधानसम्मत हुने भएकाले प्रधानन्यायाधीश राणाविरुद्ध संसदमा महाअभियोग लगाउन उपयुक्त हुने तर्कसमेत गरे। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अधिकारीले अदालतका कुनै पनि न्यायाधीश कानुनभन्दा माथि छैनन् भन्ने पुष्टि गर्न पनि प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउन ढिलाइ गर्न हुन्न भन्ने पक्षमा आफूले सुरुदेखि नै अडान राख्दै आएको बताए।
यता राष्ट्रिय सभा सदस्य एवम् माओवादी केन्द्रका नेता बिडारीले प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाउनका लागि यही मंसिर २८ गते संघीय संसद् बैठक आह्वान गरिएको बताए। उनले प्रधानन्यायाधीश राणालाई भ्रष्टको संज्ञा दिँदै उनीमाथि छानबिनका लागि ११ सदस्यीय संसदीय छानबिन समिति गठन हुनेसमेत बताए ।
यसअभि नेपाल बारले बुझाएको त्रापनपत्र बुझ्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिवक्ताहरुको गुन तिर्ने भन्दै प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने संकेत गरेका थिए ।

