कांग्रेसको बागमती प्रदेश सभापतिमा ३ जनाको उम्मेदवारी दर्ता

कांग्रेस बागमती प्रदेश सभापतिमा तीन जनाले मनोनयन दर्ता गराएका छन् । कांग्रेसको १४ महाधिवेशनअन्तर्गत भइरहेको पहिलो प्रदेश अधिवेशनमा प्रदेश सभापतिको लागि ३ जनाको उम्मेदवारी परेको हो। रामचन्द्र पौडेल पक्षका उम्मेदवार जगदीश्वर नरसिंह केसी, कृष्ण सिटौला पक्षको नेता भीमसेनदास प्रधान र पार्टी सभापति शेरबहादुर देउवा पक्षको इन्द्रबहादुर बानियाँले प्रदेश सभापतिमा मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ता गर्ने अन्तिम समयसम्ममा प्रदेश सभापतिको लागि ३ जनाले उम्मेदवारी परेको हो । कांग्रेस वरिष्ठ नेता पौडेल, प्रकाशमान सिंह, गगन थापालगायतको समर्थन पाएका केसीले प्रदेश सभापतिमा उम्मेदवारी दिएका हुन्। उनको प्यानलबाट उपसभापतिहरूमा मोहनबहादुर बस्नेत र राजेन्द्र बुर्लाकोटी रहेका छन्। त्यस्तैगरी, महामन्त्रीमा रामचन्द्र अर्याल माइकल र कन्चन वादे श्रेष्ठ रहेका छन्। सहमहामन्त्रीमा जीवन डङ्गोल, ऋषिराम घिमिरे र दिलबहादुर तामाङले उम्मेदवारी दिएका छन्।



त्यस्तै, बानियाँको प्यानलबाट उपसभापतिहरूमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम रहेका छन् भने महामन्त्रीहरूमा तिलक रुवाली र राजु श्रेष्ठले उम्मेदवारी दिएका छन्। सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्काले उम्मेदवारी दर्ता गराएका छन्।

सभापतिको अर्का उम्मेदवार प्रधानले भने प्यानल बनाएका छैनन् । देउवा पक्षको समर्थन पाउने आशा गरेर उनले उम्मेद्वारी दिए पनि अन्तिममा वानीयाँ पछि नहटेपछि प्रदान एक्लैले मनोनयन दर्ता गरेका हुन् ।

सम्बन्धित समाचार