नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ मंसिर ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संसद अधिवेशन यसअघि जस्तै सञ्चालन हुने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर अवरोध गरे पनि संसद सञ्चालन गर्ने प्रतिक्रिया दिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले कारबाही गरेका सांसद उपस्थित भए आगामी संसद अधिवेशन चल्न नदिने चेतावनी दिएका थिए । प्रचण्डले आफूलाई एमाले १० औँ महाधिवेशन पछि सुध्रियो होला भन्ने लागेपनि उस्तै रहेको टिप्पणी गरे ।
संसद अवरुद्ध पार्ने एमालेको नियत ठीक नभएको र यो सत्य सारा नेपालीलाई थाहा भइसकेको उनको भनाइ थियो । प्रचण्डले न्यायालय विवादवारे गठवन्धनबीच छलफल भइरहेकाले समस्याले चाँडै निकास पाउने बताए ।

