नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ मंसिर ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई पूर्व अध्यक्ष कमल थापाले बधाई दिएका छन् । आज (आइतबर) एक ट्विट गर्दै उनलाई बधाई दिएका हुन् ।।
थापाले लिङ्देनलाई बधाई दिँदै मत परिणाम स्वीकार गरेको बताएका छन् । उनले प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गरेको ट्विटमा उल्लेख छ ।
थापाले ट्विटरमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना। प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु।’
त्यस्तै राप्रपा नेपालको अध्यक्ष पदमा पराजित भएसँगै कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप लगाएका छन् । उनले सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको टिप्पणी गरेका हुन् । आज एक ट्विट गर्दै थापाले यस्तो बताएका हुन् ।
त्यस्तै, उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्व राजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोप लगाउँदै भत्सर्ना गरेका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’
कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय १७ मत पाएका छन् । ४३१ मत बदर भएको थियो ।
थापाको ट्विट :

