नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ मंसिर ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १२ जना फेला परेका छन् । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ खाद्यसंस्थान टोल बस्ने ३० वर्षीय लक्की शर्मा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगगरी मकवानपुर, थाहा नगरपालिका-३ डाँडागाउँ बस्ने ५५ वर्षीया राधिका परियार आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै काभ्रे, बेथानचोक गाउँपालिका-३ बस्ने ५१ वर्षीय चन्द्र कुमार तामाङ सोही ठाउँस्थित गोरखनाथ सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका छन् । उक्त वनमा पत्कर\सेउला सोर्न गएकोमा बेलुकासम्म घर नआएपछि खोजी गर्ने क्रममा सोही ठाउँस्थित भीरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।
यस्तै बाग्लुङ, ढोरपाटन नगरपालिका-२ टारीखेतस्थित बाँसको झ्याङमा हाल नाम, थर र वतन नखुलेकी करिब ५५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् । यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-७ युटिकीस्थित बाटोको छेउमा सोही नगरपालिका-८ ठस्सी गाउँ बस्ने ३६ वर्षीय सुमन पाख्रिन शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यता मोरङ, केराबारी गाउँपालिका-६ बस्ने खेम लिम्बुको घरमा सुनसरी धरान उपमहानगरपालिका-६ पानमारा बस्ने २० वर्षीय अनिल कट्वाल शुक्रबार मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय केराबारी र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले आवश्यक सोधपुछको लागि ६ जनालाई नियन्त्रणमा लिएको छ ।
त्यसैगरी धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-५ तल्लोकाष्टे बस्ने ५० वर्षीय नवराज थापा क्षेत्री सोही ठाउँस्थित बाँसघारीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै स्याङजा, वालिङ नगरपालिका-११ भोर्लेस्थित खरबारीमा सोही ठाउँ बस्ने २८ वर्षीय कमल पौडेल शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै ललितपुर, ललितपुर महानगरपालिका-१० कुपण्डोलस्थित टहरामा बस्ने रामेछाप मन्थली नगरपालिका-१२ गेलु घर भएकी ३५ वर्षीया जानुका भुजेल सोही टहरामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । यसैगरी बैतडी, सिगास गाउँपालिका-८ पुनैडुङरी बस्ने ५५ वर्षीय कटक सिह बोहरा सोही ठाउँस्थित काली पोखरीको जंगलमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँस्थित काली पोखरी मन्दिरमा लागेको मेला हेर्न मंसिर १३ गते गएका उनी बेपत्ता भएपछि खोजी गर्ने क्रममा उक्त जंगलमा उनको शव फला परेको हो ।
त्यसैगरी धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-१ सपहीस्थित सडक छेउमा हाल पहिचान नखुलेका करिब ३० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता काभ्रे महाभारत गाउँपालिका-४ कोलटार बस्ने ३५ वर्षीय जगत बहादुर अछामी सोही ठाउँस्थित पशुपति मन्दिर नजिक झाडीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
उक्त मन्दिरमा जात्रा हेर्न गएका उनी बिहानसम्म सम्पर्कमा नआएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देविटार र प्रहरी चौकी फोक्सिङटारबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त झाडीमा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
