बागमतीमा बानियाँलाई प्रधानको समर्थन, पुनः मतदान सुरु हुँदै

शनिबार सम्पन्न नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदको मतगणनामा इन्द्रबहादुर बानियाँले ९९२ मत प्राप्त गरेका छन् । यसैगरी, सभापति पदका अर्का उम्मेद्वार जगदिश्वर नरसिंह केसीले ८७७ मत पाएका छन् । अर्का उम्मेदवार भीमसेन दास प्रधानले १९७ मत प्राप्त गरेको निर्वाचत अधिकृत केशव काफ्लेले जानकारी दिए ।

मतदानमा दुई हजार ८३ जना मतदाताले भाग लिएको उक्त अधिवेशनमा जम्मा १० मत बदर भएको छ, भने सभापतिमा १२ जनाले कसैलाई पनि मत नदिएको निर्वाचन समितिले जानकारी दिएको छ । नेपाली कांग्रेसको विधान बमोजिम विजयी हुनका लागि ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । तीनै जना उम्मेदवारको ५१ प्रतिशत मत नपुगेकाले आज पुनः मतदान हुने भएको छ । आज अपरान्ह २.३० बजेसम्म मतदान प्रक्रिया सुरु हुने निर्वाचन अधिकृत काफ्लेले जानकारी दिए ।



यसैबीच, सभापतिका उम्मेदवार भीमसेनदास प्रधानले अर्का उम्मेद्वार इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने घोषणा गरेका छन् । केहीबेर अघि हेटौँडामा पत्रकार सम्मेलन गर्दै प्रधानले बानियाँलाई समर्थन गर्ने बताए । घोषणाअनुरुप आफू र आफ्ना सबै समर्थकले बानियाँलाई मतदान गर्ने प्रधानले विश्वास व्यक्त गर्नुभएको नेपाली कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्माले जानकारी दिए । प्रदेश अधिवेशनमा दुई हजार १५१ प्रतिनिधि सहभागी छन् ।

सम्बन्धित समाचार