नवकान्तिपुर संवाददाता
काठमाडौं, २० मंसिर ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड, टोटेनहम र एस्टन भिल्ला विजयी भएका छन् । आइतबार राति भएको खेलमा युनाईटेडले क्रिस्टल प्यालेसलाई १-० ले, टोटेनहमले नर्विच सिटीलाई ३-० ले र एस्टन भिल्लाले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको हो ।
युनाईटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको ७७ औं मिनेटमा ग्रीनउडको पासमा फ्रेडले गोल गर्दै युनाईटेडलाई १-० को कठिन जित दिलाए । जितसँगै युनाईटेड १५ खेलमा २४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ भने १६ अंक जोडेको क्रिस्टल प्यालेस १२ औं स्थानमा रहेको छ ।
त्यस्तै इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले नर्विच सिटीलाई ३-० ले पराजित गरेको छ । आइतबार राति टोटेनहमको घरेलु मैदानमा भएको खेलमा खेलको १० औं मिनेटमा लुकास मौराले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा टोटेनहमले थप २ गोल गर्यो । खेलको ६७ औं मिनेटमा डेभिनसन सान्चेजले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई ३-० को सहज जित दिलाए । जितसँगै टोटेनहम १४ खेलमा २५ अंक जोड्दै पाँचौं स्थानमा छ भने १० अंक जोडेको नर्विच सिटी पुछारमा रहेको छ ।
त्यसैगरी आइतबार राति नै भएको अर्को खेलमा लेस्टर सिटी एस्टन भिल्लासँग २-१ ले पराजित भएको छ । एस्टनको घरेलु मैदानमा भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा लेस्टर पराजित हुन पुग्यो । खेलको १४ औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । तर, खेलको १७ औं मिनेटमा एस्टन भिल्लाका इज्री कोन्साले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ५४ औं मिनेटमा इज्री कोन्साले गोल गर्दै एस्टनलाई २-१ को जित दिलाए । जितसँगै एस्टन १५ खेलमा १९ अंक जोड्दै लिगको दशौँ स्थानमा छ भने १९ अंक जोडेको लेस्टर ११ औं स्थानमा रहेको छ ।