नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ मंसिर ।

नेपाली काँग्रेसको महाधिवेशन आउन मात्र तीन दिन बाँकी छ । यससँगै नेताहरू आ–आफ्नो उम्मेद्वारी घोषणाको तयारीमा जुटेका छन् । सभापतिमा आकाँक्षीको लर्को नै लागेको छ । संस्थापन पक्षबाट तयारीका हिसाबले २ जना मात्र आकांक्षी रहे पनि संस्थापनइतरमा पनि कम्तिमा ५ नेताले दाबी पेश गरिरहेका छन्, जसले गर्दा नेपाली काँग्रेसको १४ महाधिवेशनबाट नयाँ नेतृत्वको उदय होला या हालका पार्टी सभापति शेरबहादुर देउवाले नै सभापति पुनः हत्याउलान् भन्ने विषय अहिले चासोको विषय बनेको छ ।
संस्थापनइतर पक्ष साझा उम्मेद्वार तय गर्न हिजो रातीसम्म छलफलमा जुटेको थियो । सो बैठकमा साझा उम्मेद्वार चयन गर्नेबारे छलफल भए पनि सहमति जुट्न सकेन । संस्थापनइतर समूहका चार प्रभावशाली नेताहरू रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइराला १४औं महाधिवेशनमा साझा उम्मेद्वार चयन गर्नका लागि छलफलमा जुटे पनि सहमति जुट्न नसकेको हो । रामचन्द्र पौडेल निवास बोहोराटारमा भएको छलफलमा चारै नेताले आ–आफ्नो दाबी नछोडेपछि सहमति जुट्न नसकेको हो ।
बैठकमा महामन्त्री समेत रहेका डा शशांक कोइरालाले आफ्नो पक्षमा माहोल रहेकोले आफैं साझा उम्मेद्वार हुनुपर्ने बताएका थिए । त्यस्तै दाबी नेता सिंह र पौडेलको थियो । महाधिवेशन आउन तीन दिनमात्र बाँकी रहँदा संस्थापनइतर समूहमा सहमति नजुट्दा सो पक्षका कार्यकर्ता निराश देखिएका छन् । सभापतिमैं सहमति नजुट्दा तलका अन्य पदमा आकांक्षा जाहेर गरिरहेका नेताहरूले आन्तरिक तयारी गर्न सकेका छैनन् । यो समूह आज पनि छलफलमा जुटेर सभापतिसहित प्यानल नै घोषणा गर्ने तयारीमा छन् ।
यता पुनः नेतृत्वमा दोहोरिने कसरतमा रहेका सभापति देउवा आफ्नो पक्षमा माहोल बनेको निष्कर्षमा पुगेका छन् । जिल्ला र प्रदेश अधिवेशनमा आफ्नो पक्षमा माहोल बनेपछि महाधिवेशनलाई लिएर देउवा उत्साही बनेका छन् । उनको यो उत्साहलाई इतरपक्षको विवादले पनि मलजल गरिरहेको छ । नेतृत्वलाई लिएर विपक्षीबीच जति विवाद बढ्छ, उति देउवालाई फाइदा हुने देखिन्छ । विपक्षीबीच ढिलो गरी सहमति जुटे पनि एकले अर्कोलाई सघाउने वातावरण नबन्ने भएकोले पहिलो चरणको मतदानमैं ५१ प्रतिशत मत कटाएर सभापति हत्याउने योजनाका साथ देउवा प्यानल घोषणाको तयारीमा छन् ।
पौडेल पक्षको प्यानलमा नपरेकालाई पनि समेट्ने लक्ष्यका साथ देउवाले प्यानल घोषणामा ढिलाई गरिरहेका छन् । दुबै समूह एकले अर्कोको मुख ताक्ने अवस्थामा रहेकोले महाधिवेशनको मिति आइसक्दा पनि काँग्रेसमा अन्य पदाधिकारीमा को कसको दाबी पर्ने हो ? निश्चित हुन सकेको छैन । देउवाले आफ्नै पक्षमा रहेका नेता विमलेन्द्र निधिले पनि सभापतिमा दाबी गरेकोले उनीबाट भएको क्षति कृष्ण सिटौलाबाट समूहबाट उपर गर्ने पक्षमा देखिन्छन् ।
नेता सिटौला पनि आफ्नो समूहले अन्य दुई समूहलाई टक्कर दिन नसक्ने भएपछि संस्थापन पक्षसँगै मिलेर केही पदाधिकारी हत्याउने तयारी गरेका छन्, जसले देउवालाई थप शक्तिशाली बनाएको छ । महाधिवेशनको मुखैमा देउवा थप शक्तिशाली बन्दै जाँदा इतरपक्ष साझा उम्मेद्वारको विषयमै रूमलिएकोले १४औं महाधिवेशनबाट पनि काँग्रेसमा नयाँ नेतृत्वको उदय हुने सम्भावना झिनो हुँदै गएको पूर्व अनुमान गर्न सकिन्छ ।।

