अमेरिकालाई चीनको चेतावनी-‘ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्नेछ’

अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि यसबारेमा चीनले प्रतिक्रिया दिएको छ । चीनको विदेश मन्त्रालयले अमेरिकाले यस गल्तीको मूल्य चुकाउनु पर्ने बताएको छ । चीनको विदेश मन्त्रालयले अमेरिकाको यो घोषणालाई षड्यन्त्र भन्दै सफल नहुने बताएको हो ।

चीनले अघि भनेको छ, ‘यसबाट केवल दुई देशबीचको द्विपक्षीय कुराकानी र विभिन्न क्षेत्रमा हुँदै आएको सहयोगमा क्षति पुग्नेछ ।’ यसका साथै चीनले जवाफी कारबाहीको चेतावनी दिएको छ । अमेरिका केवल बेइजिङ शीतकालीन ओलम्पिकमा बाधा पुर्याउने कोसिस गरिरहेको र यसले अमेरिकालाई नैतिक अधिकार र विश्वसनियतामा असर पुग्ने चीनले भनेको छ ।



चीनमा मानव अधिकारसम्बन्धी विषयको चिन्ता थपिएको भन्दै ह्वाइट हाउसले प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने जनाएको हो । तर अमेरिकी खेलाडी भने प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने उल्लेख गरेको छ ।

अघिल्लो महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिकको कुटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकी प्रशासनले ओलम्पिकको उत्सवमा योगदान नगर्ने प्रस्ट पारे ।

सम्बन्धित समाचार