नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ मंसिर ।

नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन आउन एक दिन मात्र बाँकी छ । अर्थात् भोलि शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा काँग्रेसको महाधिवेशन उद्घाटन हुँदैछ । यससँगै पार्टीका शीर्ष नेताहरू आ–आफ्नो समूहको प्यानल बनाउन व्यस्त छन् । तर अधिकांश पदमा आकांक्षीहरूको लर्को लागेकोले सहमतिमै उम्मेद्वार तय गर्नु नेताहरूको लागि फलामको चिउरा चपाएसरी भएको छ ।
संस्थापन इतर समूहमा साझा सभापतिको नै टुङ्गो लागेको छैन । सभापतिमा आकांक्षा राखिरहेका रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरालामध्ये शशांक र रामचन्द्र सहमतिको लागि लचक हुन तयार छन् । अर्थात् उनीहरू सभापतिको दौडबाट पछि हट्न तयार छन् । तर प्रकाशमान र शेखरबीच सहमति नजुट्दा यो समूहले अन्य पदाधिकारीबारे छलफल नै गर्न पाएको छैन ।
सहमतिको लागि अधिकतम लचक बनेका पौडेलले सिंह र कोइराला सहमतिमा नआएपछि पार्टी नै छोड्नेसम्मको अभिव्यक्ति दिए । त्यसो त आफू सभापति साझा उम्मेद्वारबाट रिङ आउट भएपछि उनले कृष्ण सिटौलालाई फकाएर आफ्नो पक्षमा माहोल बनाउने असफल प्रयास गरेका थिए । तर देउवालाई बचन दिइसकेका सिटौलाले चासो नदिएपछि उनी शेखरलाई अगाडि सार्ने मनसायमा पुगेका थिए । तर नेता सिंह सहमतिमा नआएपछि घुम्दै फिर्दै साझा उम्मेद्वार पुन पौडेलको पक्षमा आउने देखिएको छ ।
कोइराला र सिंहलाई एक अर्काले गर्दा आफ्नो सम्भावना गुमेको इख रहेको छ । त्यसैले उनीहरूले एकले अर्कोलाई छोड्न भन्दा पौडेललाई अघि सार्न तयार हुने अवस्था आएको पौडेल पक्षका एक नेताको दाबी छ । कोइरालालाई प्रधानमन्त्री बनाउने र सिंहनिकट नेतालाई महामन्त्री बनाउने शर्तमा उनीहरूलाई पछि हट्न बाध्य बनाउन सो समूहका युवा नेताहरूले पनि पहल गरिरहेका छन् । देउवालाई हराउन एकल उम्मेद्वार बनाएर सम्पूर्ण गुट उपगुट एकमना लिएर प्रतिष्पर्धामा जानुपर्नेमा युवा नेताहरूले जोड दिइरहेका छन् ।
यता संस्थापन पक्षमा पनि सभापतिमा देउवा निर्विरोध देखिए पनि अन्य पदाधिकारीमा भागबण्डा मिलाउन हम्मे हम्मे परेको छ । कृष्ण सिटौला पक्षलाई र विजय गच्छदारलाई पनि समेट्नुपर्ने बाध्यता देउवामा छ । सिटौलाको साथ पाएपछि सभापतिमा उम्मेद्वारी घोषणा गरेका विमलेन्द्र निधिलाई बेवास्था गरेका देउवासामु अन्यलाई रूष्ट बनाउन नहुने बध्यता छ । त्यसमा पनि इतर समूह एक भएर आएको खण्डमा आफ्नो समूहलाई असन्तुष्ट हुन नदिने गरी पदाधिकारीमा भागबण्डा मिलाउन देउवा लगातार निकटका नेतासँग छलफलमा छन् ।
उपसभापति र महामन्त्रीमा आकांक्षीहरूको लाइन लागेकोले देउवाले पनि पदाधिकारीको टुङ्गो लगाउन सकेका छैनन् । महाधिवेशन आरम्भ हुन २४ घण्टा पनि समय नरहेको अवस्थामा दुबै समूहका नेताहरूको दौडधुप तीव्र बनेको छ । पदाधिकारीमा नै नेताहरूको सहमति नजुट्दा केन्द्रीय सदस्यलगायताका पदमा उम्मेद्वारी दिने तयारीमा रहेका नेताहरूले आफ्नो दाबी शीर्ष नेतासमक्ष राख्न पाएका छैनन्, जसले गर्दा नेता कार्यएकर्तामा महाभिवेशनलाई लिएर थप अन्यौलता बढेको देखिन्छ ।।

