सभापतिमा प्रकाशमानको दाबी कायमै, शेखरले थाले प्रचार प्रसार

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन्। आफ्नै निवासमा सञ्चारकर्मीसँगको कुराकानीमा नेता सिंहले आफूले शनिबार सभापतिमा उम्मेदवारी दर्ता गराउने बताए। उनले राजनीतिक दृष्टिकोणबाट नै सबैलाई न्याय होस् भन्ने आफ्नो चाहना रहेको समेत बताए।

शनिबार मनोनय दर्ताको समय रहेको भन्दै नेता सिंहले आफूले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने बताए। ‘१३औं महाधिवेशनपछि पार्टी अत्यन्तै कमजोर भयो। कांग्रेस कमजोर भएका कारणले कम्युनिस्टले प्रहार गर्न थाले,’ उनले भने, ‘पार्टी ठिक ठाउँमा ल्याउनुपर्‍यो भन्ने हो। पुरानै तरिकाले हिँडेर त भए न नि।’ उनले न्यायसंगत रुपमा हुने सहमतिमा आफू तयार रहेको पनि बताए।



यता नेता डा शेखर कोइरालाले पनि सभापतिमै उम्मेद्वारी दिने भन्दै प्रचार सुरु गरेका छन्। कांग्रेसको संस्थापन इतर पक्षमा रहेका कोइरालाले सामाजिक सञ्जालबाट प्रचार सुरु गरेका हुन्। इतर पक्षबाट शेखरसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला र नेता प्रकाशमान सिंह सभापतिका आकांक्षी छन्।

इतर पक्षका नेताहरुबीच सभापतिमा साझा उम्मेदवार तय गर्न भन्दै सहमतिका लागि छलफल चलिरहेको छ। सहमति निर्माण गर्न भनेर भइरहेका छलफलमा क्रममा सभापतिका आकांक्षीमध्ये वरिष्ठ नेता पौडेल र महामन्त्री डा कोइरालाले केही लचक हुने संकेत पनि गरेका छन्।

तर, प्रकाशमान सिंह र डा शेखर कोइराला आफ्नो अडानबाट पछि हट्न नमान्दा सहमति जुट्न नसकेको नेताहरुको भनाइ छ। कांग्रेसको १४औं महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदै छ।

सम्बन्धित समाचार