नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ मंसिर ।

नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले चितवनमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनले पार्टी राष्ट्रिय राजनीतिमा क्षेत्रमा लोकप्रिय र प्रभावशाली भएको सन्देश दिएको बताएका छन् । प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले महाधिवेशनको उद्घाटन सत्रमा नारायणी तिरमा देखिएको ठूलो जनसहभागिता र बन्द सत्रबाट नयाँ नेतृत्व चयन हुनुले पार्टी थप शक्तिशाली देखिएको बताए ।
देशमा राजनीतिक निकासका लागि ताजा जनादेश नै विकल्प भएको एमालेको ठहर भएको जनाउँदै उनले गठबन्धन सरकारभित्रको अन्योल र न्यायालयमा देखिएको विवादले एमालेको धारणालाई सही सावित गरेको स्पष्ट गरे। उहाँले यही मङ्सिर २८ गतेदेखि हुने सङ्घीय संसद्को अधिवेशनमा एमालेले अवरोधका कार्यक्रमलाई निरन्तरता दिने बताए । नेता ज्ञवालीले पार्टीले कारबाहीको सिफारिस गरेका सांसदहरूलाई कायम राखेर सदन चल्न नसक्ने अडान व्यक्त गरे ।
उनले न्याय क्षेत्रको समस्या समाधान कुनै व्यक्तिलाई कायम राखेर वा हटाएर मात्रै नहुने भएकाले न्याय क्षेत्र सुधारका लागि दिइएको सुझाव प्रतिवेदन कार्यान्वयन हुनुपर्नेमा जोड दिए । प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउने पक्षमा एमाले नरहेको उनको दाबी थियो ।

