नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ मंसिर ।
सिभिल बैंकले यही मङ्सिर २४ गतेदेखि ‘सिभिल बैंक डिबेञ्चर २०८८’ सर्वसाधारणहरुकोे लागि बिक्री खुल्ला गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बजारको चल्तीको भन्दा अधिकतम ब्याजदर १०.२५ प्रतिशत रहेको सिभिल बैंक डिवेन्चरको अवधि १० वर्ष रहेको छ । प्रति डिवेन्चर १ हजार अंकित मूल्यका ३० लाख कित्ता डिवेन्चरले हुन आउने ३ अर्ब बरावरको कुल डिवेन्चरमध्ये १२ लाख कित्ता डिवेन्चर अर्थात् १ अर्ब २० करोड ऋणपूँजी रकम सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने तथा १८ लाख कित्ता डिवेन्चरले हुन आउने १ अर्ब ८० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
सर्वसाधारणहरुले कम्तिमा २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म यस ऋणपत्र खरिद गर्न सक्नेछन् । नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत प्रदान गरिएको यस ऋणपत्रमा त्रैमासिक रुपमा व्याज भुक्तानी गरिने छ र नेपाल स्टक एक्सचेन्जमा सुचीकृत भई किन्बेच समेत गर्न सकिने छ । सर्वसाधारणहरुले आफूले खरीद गर्न चाहेको ऋणपत्र सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु मार्फत दरखास्त फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन् । ऋणपत्रको निष्काशन मंसिर २४ गते खुल्ला भई छिटोमा मंसिर २८ गते तथा ढिलोमा पौष ९ गते बन्द हुने जनाइएको छ ।
बैंकले निष्काशन गर्न लागेको डिवेन्चरको व्याजदर हाल नेपाल स्टक एक्सचेन्जमा सुुचीकृत डिवेन्चरहरुको औसत व्याजदरभन्दा बढी तथा हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा प्रदान गरिरहेको व्याजदरभन्दा पनि उच्च रहेको छ । यसका साथै अन्य धेरै डिवेन्चरहरुभन्दा फरक सिभिल बैंक डिवेन्चरले त्रैमासिक रुपमै व्याज भुक्तानी गर्नेछ जसले गर्दा लगानीकर्ताले अर्ध वार्षिक भुक्तानी योजना भएकोमा भन्दा अधिक ब्याज आम्दानी प्राप्त गर्नेछ । सामूहिक लगानी कोषको लागि छुट्टयाइएको ५% डिवेन्चरको लागि २.३ गुणा बढी आवदेन प्राप्त भएको समेत बैंकले जनाएको छ ।