नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ मंसिर ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउन प्रस्ताव गरेका छन् ।
आज (शुक्रबार) चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले यस्तो प्रस्ताव गरेका हुन् । कार्यक्रममा बोल्दै निधिले शेरबहादुर देउवाको समेत समर्थनमा पौडेल सभापति बन्ने अवस्थामा आफू पछाडि हट्न तयार रहेको बताएका छन् । यसअघि आफू कुनैपनि हालतमा सभापतिको उम्मेदवारबाट पछि नहट्ने भन्दै आएका निधिले आज भने सर्वसम्मत सभापतिको लागि वरिष्ठ नेता पौडेलको नाम प्रस्ताव गरेका हुन् ।
उनी आफैँ पनि सभापतिको उम्मेदवार हुन् । पार्टीमा एकताको सन्देश जरुरी रहेको भन्दै निधिले केन्द्रीय समितिको अन्तिम बैठकमा पौडेल नआउनु दुःखद भएको पनि बताए । त्यस्तै आजको महाधिवेशन उद्घाटन समारोहमा समेत पौडेल उपस्थित नहुने चर्चा चलेपछि निधिले पौडेललाई फोन गरेर उद्घाटन समारोहमा सहभागी हुन आग्रह पनि गरेको कांग्रेस स्रोतले जनाएको छ ।

