नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ मंसिर ।

नेपाली कांग्रेसको संस्थापन पक्षमा अअसन्तुष्टि बढेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग चुनावी सहकार्य गर्ने सभापति शेरबहादुर देउवाको तयारीप्रति संस्थापन पक्षका नेता कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
सभापति देउवाले सिटौलासँग सहकार्य गर्दै युवा नेता प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने चर्चा चलेसँगै देउवा समूहका नेताहरु असन्तुष्ट बनेका हुन् ।
महामन्त्रीका आकांक्षीका रुपमा रहेका गृहमन्त्री बालकृष्ण बालकृष्ण खाँण, एनपी साउद, शंकर भण्डारी, सुरेन्द्रराज पाण्डे, गोविन्द भट्टराई लगायतका नेताहरुले प्रदीपलाई महामन्त्री बनाए ‘प्रत्युत्पादक’ हुने चेतावनी दिएका छन् । उनीहरुले लामो समयदेखि टिममा दुःख गरेका नेताहरुलाई पन्छ्याउँदा आन्तरिक एकता खल्बलिन सक्नेप्रति सभापति देउवालाई सचेत गराएका छन् ।
गए रातिदेखि अहिलेसम्म नै बालुवाटारमा सिटौला समूहलाई महामन्त्री नदिन नेता कार्यकर्ताहरुले दवाव दिइरहेका छन् । प्रदीपलाई महामन्त्री बनाउँदा संस्थापन पक्षका अधिकांश सिनियर नेताहरुमाथि अन्याय हुने उनीहरुको दाबी छ ।
सभापति देउवा र नेता सिटौलाबीच महामन्त्रीमा पौडेल, सह–महामन्त्रीमा उमाकान्त चौधरीसहित सिटौला पक्षका ३० जनालाई केन्द्रीय सदस्य बनाउने सहमति बनेको बताइन्छ ।

