महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोडे रामचन्द्र पौडेलले

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको बताएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै पौडेलले चौधौं महाधिवेशनसम्म आइपुग्दा आफूले अनेक प्रपञ्च भोगेको बताएका हुन्।

पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्न पर्ने अवस्थामा पुगेको धारणा राखेका छन्। ‘प्रजातन्त्रका मूल्य, मान्यता र आर्दश अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्न पर्ने अवस्थामा म पुगें।’ विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘तथापि एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडिनै रहनेछ। लोकतन्त्रको आस्था मनभरि भरिएका कांग्रेसजन र विशेषगरि नयाँ शिक्षित पुस्ताले नेपाली कांग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल आदर्शमा स्थापित गर्ने प्रयास अघि बढाउने छन् भन्ने मेरो अपेक्षा भने मेटिएको छैन।’



उनले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक रहेको भन्दै प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘म नेपाली कांग्रेस पार्टीका तमाम कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरुलाई यो दिशामा आफ्नो ध्यान लगाउन र सुदृढ, सबल र एकताबद्ध पार्टी निर्माणमा एकजुट हुन आग्रह गर्दछु। मैले कांग्रेसलाई जुन रुपमा बस्दै आएको थिए, त्यो कांग्रेसमा विचलन आइरहेको मैले अनुभव गर्नुपरेको छ।’

कांग्रेसमा विचलन आइरहेको उनले बताए। पौडेलले राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका रही रहने स्पष्ट पारेका छन्। पौडेलले प्रतिस्पर्धाबाट आफू बाहिरिएपनि आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पधाको आदर्श र मूल्यलाई जोगाउन कार्यकर्तालाई आह्वान गरेका छन्।

सम्बन्धित समाचार