नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ मंसिर ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत उम्मेदवारहरूले मनोनयन फिर्ता लिने समय थप गरिएको छ । आज (आइतबार) कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मनोयन फिर्ता लिने समय बिहान ११ बजे भएपनि साढे एक घण्टा थप गर्दै मध्यान्ह १२:३० बजेसम्म तोकिएको छ।
उम्मेदवारहरुले शनिबार नै दर्ता गरिसकेका छन् । शनिबार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारहरूले मनोनयन गरेका थिए । शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । जसमा सभापतिमा ६ जनाले उम्मेदवारी दिएका छन् । सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएको समितिले जानकारी दिएको छ ।
त्यस्तै दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् भने दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी, विरोध र जाँचबुझ शनिबार बेलुकी ७ बजेसम्म मात्रै थियो । उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने समय गए राति १२ बजेसम्म थियो । आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । मतदान सोमबार बिहान ८ बजेदेखि भृकुटीमण्डप, नेपाल पुलिस क्लव र राष्ट्रिय सभागृहमा हुनेछ ।

