कति जनाले लिए उम्मेदवारी फिर्ता ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पदाधिकारीसहित केन्द्रीय समितिमा उम्मेदवारी दर्ता गराएका ५६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आज (आइतबार) निर्वार्चन समितिले उम्मेदवारी फिर्ता गर्ने समय दुई घण्टा थप गरेको थियो । यसअघि बिहान ११ बजेसम्म मात्र उम्मेदवारी फिर्ता लिने समय तय गरेको निर्वाचन समितिले दिउँसो १ बजे सम्म समय थप गरेको हो ।

यसैबीच उम्मेदवारी फिर्ता लिने समय सकिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति र सहमहामन्त्रीसहित ६० जनाले लिए उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको थियो । तर चार जनाको सनाखत हुन नसकेपछि निर्वाचन समितिका सदस्य तेज रावलले ५६ जनाको मात्र उम्मेदवारी फिर्ता भएको जानकारी दिए । जसमध्ये आइतबार दिउँसो सभापतिका प्रत्यासी युवराज न्यौपाने, सहमहामन्त्रीका प्रत्यासी (थारुतर्फ) सुरेन्द्रप्रसाद चौधरी र केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका मीन विश्वकर्माले मनोनयन फिर्ता लिएका छन् ।



त्यस्तै खुला, आरक्षित, महिला, दलित, मुसलमान, पिछडिएको क्लस्टरतर्फका ५८ केन्द्रीय सदस्यका उम्मेदवारले मनोनयन फिर्ता लिएका हुन् । शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । न्यौपानेले उम्मेदवारी फिर्ता लिएसँगै अब सभापतिमा कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् भने दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मतदान सोमबार बिहान ८ बजेदेखि भृकुटीमण्डप, नेपाल पुलिस क्लव र राष्ट्रिय सभागृहमा हुनेछ ।

 

सम्बन्धित समाचार