नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ मंसिर ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४औं महाधिवेशनअन्तर्गत आज हुने चुनावमा सभापति पदका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित गरिएको छ । समाचारहरुमा प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालाले पार्टी सभापतिको निर्वाचनमा देउवालाई समर्थन गर्ने सहमति भएको दाबी गरेका छन् ।
आफ्नो समूहले आफूलाई सभापति पदको सर्वसम्मत उम्मेदवार नबनाएपछि जारी महाधिवेशनको प्रतिस्पर्धाबाटै अलग भएका पौडेलले आफ्नो समर्थन देउवालाई दिएको परियारको दाबी छ। त्यस्तै महामन्त्रीसमेत रहेका बीपी पुत्र शशांकले पनि पार्टी सभापतिमा अनुभवी र परिपक्व व्यक्ति आवश्यक रहेको भन्दै आफ्नो समर्थन देउवामा रहेको जनाएको परियारको दाबी छ।
यता शशांक कोइरालाले १४औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा आफू शेखर कोइरालाको प्यानलमै रहेको प्रष्ट पारेका छन् । आफ्ना स्वकीय सचिव भरत तिवारीमार्फत कोइरालाले शेखर कोइरालाको प्यानललाई नै सहयोग रहने प्रष्ट पारेका छन् ।
पार्टीको संस्थापन समूहले आफ्नो प्यानलको प्रचार सामग्रीमा शशांक कोइरालाको पनि नाम राखेको छ । तर शशांकको सचिवालयले भने त्यसलाई गलत प्रचार भनेको छ ।

