नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ मंसिर ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पूर्व राजा र निर्मल निवासमाथि पार्टीले छानविन गर्नुपर्ने माग गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई पत्र लेख्दै थापाले राजसंस्थाद्वारा पार्टीको महाधिवेशनमा हस्तक्षेप गरिएको आरोपसहित छानविन माग गरेका हुन् ।
थापाको तीन पृष्ठ लामो पत्रमा राजसंस्थाको हस्तक्षेपको भत्र्सना गर्दै निष्पक्ष छानविन समिति बनाउन माग गरिएको छ । ‘राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउने चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस सुरु गर्नुहोस,’ थापाले पत्रमा भनेका छन् ।
यो विषयको निराकरण नभएसम्म पार्टीले कुनै गति लिन नसक्ने थापाको भनाइ छ । पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने राजालाई बोकेर हिँड्ने नैतिक धरातल समाप्त भएको पनि थापाले बताएका छन् ।
उनको पत्रमा भनिएको छ, ‘पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको पछिल्लो कारवाहीले मेरो मूल्य मान्यताको आधार र धरोहर एकैपटक तहसनहस भएको छ । राजा बोकेर हिँड्ने राप्रपाको नैतिक धरातल समाप्त भएको छ ।’
पार्टीको आन्तरिक मामिलामा निर्मल निवासको हस्तक्षेप यो पहिलो घटना नभएको थापाले बताएका छन् । २०७४ सालमा पार्टी फुटाउन र विगत केही समयदेखि भजनमण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने तथा राप्रपाका बारेमा भ्रम सिर्जन गराउने कार्य निर्मल निवासबाट हुँदै आएको उनको आरोप छ ।

