नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ मंसिर ।

नेपाली कांग्रेसको सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा हालसम्म कुल खसेको मतको आधा गणना भइसकेको छ । २६७७ मत गणना भएको छ । सुरुदेखि नै अग्रता लिइरहेका शेरबहादुर देउवाले १२६७ मत पाएका छन् भने शेखर कोइरालाले ९८० मत पाएका छन् ।
प्रकाशमान सिंहले २०४ र विमलेन्द्र निधिले १६२ मत पाउँदा कल्याण गुरुङले १२ मत पाएका छन् ।
कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।
कुनै पनि उम्मेदवारले बहुमत नल्याए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।शेखर कोइराला समूमहका नेताहरुले आधा मत गणनाले पुनः मतदानको संकेत गरेको दाबी गरेका छन् ।

