नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ मंसिर ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पार्टी नेता कार्यकर्ताले नाराबाजी गरेका छन् । आज (मंगलबार) महाधिवेशन प्रतिनिधिको सम्मानमा लैनचौरस्थित एक ब्यांक्वेटमा भएको चियापान कार्यक्रममा नेता कार्यकर्ताले नाराबाजी गरेका हुन् ।
सभापतिका प्रत्यासी डा. शेखर कोइरालाको समर्थन नगरेको र उनको पक्षमा नबोलेको भन्दै पौडेलविरुद्ध नाराबाजी भएको थियो । पौडेलले महाधिवेशन प्रतिनिधिको सम्मानमा कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रमले उग्ररुप लिएपछि पौडेललाई सुरक्षाकर्मीले सुरक्षित ठाउँमा लगेका छन् ।
डा कोइरालालाई पौडेलले समर्थन गरेको भए उनले सभापतिका अर्का प्रत्यासी देउवालाई बढी मतअन्तरले पराजित गर्ने शेखर पक्षका महाधिवेशन प्रतिनिधिको दाबी छ । यसैबीच चियापान कार्यक्रममा प्रधानमन्त्री देउवा पनि पुगेका छन् । नेपाली काँग्रेसको नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत सभापतिको मतगणनाको अन्तिम परिणाममा कसैले बहुमत प्राप्त गर्न नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको छ। दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।

