नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ मंसिर ।

बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार भएको छ । आज (मंगलबार) मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री पाण्डेले मन्त्री तथा राज्यमन्त्री थप गरेका हुन् । उनले सत्ता साझेदार दललाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । जसमा पाँच मन्त्री र एक राज्यमन्त्री थप गरेका छन् । सरकारको नेतृत्व गरिरहेको एकीकृत समाजवादीबाट दुई मन्त्री, एक राज्यमन्त्री र माओवादी केन्द्रबाट तीनजना मन्त्री थप गरिएको हो ।
थप्निने मन्त्री तथा राज्यमन्त्रीमा श्रम, रोजगार तथा यातायात मन्त्रीमा घनश्याम दाहाल, खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीमा बसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपन्छी मन्त्रीमा वसुन्धरा हुमागाईं, वन तथा वातावरण मन्त्रीमा विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा रत्नप्रसाद ढकाल र कृषि तथा पशुपन्छी राज्यमन्त्रीमा इन्द्रमाया गुरुङ रहेका छन् ।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै शपथ लिने कार्यक्रम छ । यसअघि प्रदेश सरकारमा मुख्यमन्त्रीसहित चार सदस्यमात्र थिए ।योसँगै बागमतीमा मुख्यमन्त्रीसहित ११ मन्त्री र एक राज्यमन्त्रीको सरकार बनेको छ । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको आज साँझ ५ बजे सपथ ग्रहण गराउने तयारी गरिएको छ । मुख्यमन्त्री बनेकै दिन उनले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद खनाल, भौतिक पूर्वाधार विकास मन्त्रीमा कृष्णलाल भडेल र सामाजिक विकास मन्त्रीमा नेतृ कुमारी मोक्तानलाई नियुक्त गरेका थिए भने दोस्रो चरणमा माओवादीका शालिकराम जमकट्टेल र कांग्रेसका निमा लामा लाई नियुक्त गरेका थिए । जमकट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालय र लामाले स्वास्थ्य मन्त्रालको जिम्मेवारी पाएका छन् ।

