नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ मंसिर ।

नेपाली काँग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएसँगै सबैको नजर महामन्त्रीमा परेको छ । महामन्त्रीमा चार गुटका ६ उम्मेदवार प्रतिष्पर्धामा छन् । नेविसंघका पूर्व अध्यक्षहरु विश्वप्रकाश शर्मा र प्रदीप पौडेलका अलावा पूर्वमहामन्त्री गगन थापा प्रतिष्पर्धामा छन् । काँग्रेसको विधानमा महामन्त्री पद महत्वपूर्ण छ । दुई पदका लागि मुख्य प्रतिष्पर्धा ५ जनाबीच हुने देखिएको छ ।
विश्वप्रकाश शर्मा युवामाझ लोकप्रीय नेता हुन् । काँग्रेस प्रवक्ता भइसकेका शर्माले प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका छन् । उनले अन्तिम समयमा गुट परिवर्तन गरेका थिए । सांगठनिक रुपमा पनि शर्मा प्रभावशाली छन् । नेविसंघको सभापति रहिसकेका शर्मा विगतमा कोइराला परिवारनिकट थिए । विगतमा झापा जिल्ला सभापतिमा पराजित भएपछि उनी शेरबहादुर देउवासँग नजिकिए । प्रवक्ता बनाइएका उनी अन्ततः सिंहको प्यानमा पुगे ।
प्यानलका हिसावले हेर्दा प्रकाशमान सिंहको मत अपेक्षीत नआएकोले शर्माले महामन्त्रीमा कब्जा जमाउन सम्भव छैन । उनका प्रतिष्पर्धीहरु प्रदीप पौडेल र गगन थापा पनि लोकप्रीय नेता हुन् । उनीहरुभन्दा सिनियर डा प्रकाशशरण महत र डा मिनेन्द्र रिजाल पनि मुख्य चुनौती बनेका छन् ।
नेविसंघको निर्वाचित अध्यक्ष रहिसकेका प्रदीप पौडेल पनि युवामाझ लोकप्रीय नेता हुन् । काँग्रेसभित्र बलियो सांगठनिक पकड बनाएका पौडेलको क्षमताकै कारण कृष्णप्रसाद सिटौलाले साथ दिइरहे । सिटौला प्यानल देउवासँग मिल्दा पौडेलले ठूलो फाइदा लिन सके । उनी देउवा प्यानलबाट महामन्त्रीका उम्मेदवार बन्न सके ।
पौडेललाई देउवाबाहेकको प्यानलबाट पनि मत आउने सम्भावना छ । पौडेललाई देउवा समूहले कति स्वीकार्ने हुन् परीक्षण हुँदैछ । देउवा प्यानलको मत इमान्दारपूर्वक खसेको खण्डमा पौडेल महामन्त्रीमा विजयी हुने सम्भावना प्रवल रहन्छ ।
लोकप्रीय नेता गगन थापा महामन्त्रीका उम्मेदवार हुन् । उनी डा शेखर कोइरालाको समूहबाट उम्मेदवार बनेका छन् । उनले गुटको मतमात्र नभई अन्य मत पनि आकर्षित गर्न सक्ने आँकलन गरिएको छ । शेखरले सभापतिमा हारे पनि लोकप्रीय मत ल्याएकोले गगन पनि महामन्त्रीमा विजयी हुने आँकलन गरिएको छ । यता मिनेन्द्र रिजाल र प्रकाशशरण महत पनि प्यानलका हिसावले त्यति कमजोर नरहेकोले यी पाँचमध्ये जो किही पनि विजयी हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।।

