नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ मंसिर ।
जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख विजयी भएको छ । मंगलबार राति भएको खेलमा बायर्नले स्टुटगार्टलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो ।
बायर्नको जितमा सर्जी जिनाब्रीले ह्याट्रिक गर्दा रोबर्ट लेवान्डोस्कीको नाममा २ गोल रह्यो एकतर्फी बनेको खेलमा खेलको ४० औं मिनेटमा जिनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा बायर्नले थप ४ गोल गर्यो । व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ५३ औं मिनेटमा जिनाब्रीले गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
त्यस्तै खेलको ६९ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दा बायर्न ३-० ले अघि रह्यो । यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ७२ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ४-० को अग्रता दिलाए । त्यसपछि खेलको ७४ औं मिनेटमा जिनाब्रीले ह्याट्रिक पूरा गर्दै बायर्नलाई ५-० को शानदार जित दिलाए ।
जितसँगै बायर्न १६ खेलमा ४० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने १७ अंक जोडेको स्टुटगार्ट १५ औं स्थानमा रहेको छ । यस वर्ष ४२ गोल गरेका लेवान्डोस्कीले बुन्डेसलिगामा एकै वर्ष सर्वाधिक धेरै गोल गर्ने खेलाडी गर्ड मुलरको कीर्तिमानममा बराबरी गरेका छन् ।