नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ मंसिर ।

नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच जनयुद्धकालमा सहमति र साँठगाँठ भएको बताएका छन् । आज (बुधबार) ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
ओलीले प्रचण्ड र पूर्व राजा ज्ञानेन्द्र बीच २०६० साल मंसिर १८ गते ५ बुँदे सहमति भएको बताएका छन् । उनले ज्ञानेन्द्रले आफ्नै हातमा शासन लिएर माघ १९ उधुम मच्चाएको आरोप लगाएका हुन् । प्रचण्डसँगको साँठगाँठकै कारण ज्ञानेन्द्रले माघ १९ को दिन शासनसत्ता हातमा लिएको ओलीको दाबी छ ।
‘प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर त्यो उपद्रो भएको थियो, के सहमति भएको थियो, कसका विरुद्ध सहमति भएको थियो ? त्यो कि प्रचण्डले भन्नुपर्यो कि ज्ञानेन्द्रले भन्नुपर्यो ’ ओलीले भने । यहि सहमतिपछि ज्ञानेन्द्रले रोल्पा, रुकुम गएर अभिनन्दन कार्यक्रम गरेको ओलीको जिकिर छ । ‘लोकतान्त्रिक शक्ति रुकुम रोल्पा पाइलो टेक्न नसक्ने, नेताहरु जान नपाउने, त्यहाँ भएका नेता मारिने । ज्ञानेन्द्र जाने र त्यहाँ धुमधाम स्वागत गर्ने,’ ओलीले भने ।

