खड्का र गुरुङ कांग्रेस उपसभापतिमा निर्वाचित, दुई मतले पछि परे विजयकुमार गच्छदार

नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । बुधबार राति सम्पन्न मतगणनामा खड्काले २१२१ मत पाएर विजयी भए भने गुरुङ १९०८ मतका साथ निर्वाचित भएका हुन् ।

विजयकुमार गच्छदार भने उपसभापति हुन २ मतले रोकिए । उनले १९०६ मत पाए । खड्का शेरबहादुर देउवा पक्षका उम्मेदवार हुन भने गुरुङ शेखर कोइराला पक्षका उम्मेदवार हुन् । उपसभापतिमा विजयी खड्का निवर्तमान महामन्त्री हुन् भने गुरुङ केन्द्रीय सदस्य थिए । नेविसंघका पूर्व अध्यक्षसमेत रहेको गुरुङ शेखर कोइराला प्यानलबाट उपसभापति लडेका हुन् ।



चौथो स्थानमा रहेका डा। चन्द्र भण्डारीले १५८० मत पाए । सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन्।

दुईजना सभापतिका लागि ७ जना उम्मेदवार चुनावी मैदानमा थिए । गत सोमबार भएको मतदानमा उपसभापति पदका लागि ४ हजार ६ सय ८९ मत खसेको थियो । देउवा कांग्रेस सभापतिमा निर्वाचित भइसकेका छन् । महामन्त्री पदको मतगणना आज बिहान हुने निर्वाचन समितिले जनाएको छ।

सम्बन्धित समाचार