
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । बिहीबार भएको मतगणना अनुसार गगनले ३०२३ मत प्राप्त गरे भने विश्वप्रकाशले १९८४ मत ल्याए । गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।
त्यस्तै महामन्त्री पदका अन्य उम्मेदवार डा .प्रकाशशरण महतले १,५५६ मत प्राप्त गरेका छन् । त्यस्तै प्रदीप पौडेलले १,३९३ र डा .मीनेन्द्र रिजालले ८०९ मत पाउँदा डा .राजाराम कार्कीले १०६ मत प्राप्त गरेका छन् । दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटासम्म मत दिन पाउने व्यवस्था थियो । मतगणना पार्टी कार्यालय सानेपाको तीन स्थानबाट भएको थियो ।
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । जसमा सभापतिमा शेरबहादुर देउवा विजयी भइसकेका छन् भने दुई उपसभापति पदको बुधबार मतगणना सम्पन्न भई पूर्णबहादुुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।

