
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको पाँच सहमहामन्त्रीको मतगणनाजारी रहेको छ । कांग्रेस निर्वाचन समिति अनुसार अहिले खस–आर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्रको तर्फका सहमहामन्त्रीको मत गणना भइरहेको जानकारी दिएको छ । पाँच सहमहामन्त्रीको मतगणना पाँच ठाउँमा भइरहेको कांग्रेस निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले बताए ।
नेपाली कांग्रेसको मधेसी तर्फको सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा समूहका महेन्द्र यादवले अग्रता लिएका छन् । २००० मत गणनामा महेन्द्रले १००६ मत पाएका छन् भने शेखर कोइराला समूहका रामकृष्ण यादवले ७३६ मत पाएका छन् ।
त्यस्तै अर्का उम्मेदवार रञ्जित कर्णले २५८ मत पाएका छन् । यसैगरी थारू तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरीले अग्रता लिएका छन् ।११७७ मतगणना हुँदा उमाकान्तले ९८३ मत पाएका छन् भने तेजुलाल चौधरीले ७६९ मत पाएका छन् । उमाकान्त कृष्ण सिटौला र तेजुलाल कोइराला प्यानलका उम्मेदवार हुन् ।
यस्तै पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्री पदको हालसम्म ११३ मतगणना हुँदा डा. शेखर कोइरालातर्फका उम्मेदवार बद्री पाण्डेले ६४ मत प्राप्त गरेका छन् । जीवनबहादुर शाहीले ४७ मत प्राप्त गरेका छन् । यता खस आर्यतर्फ सानेपामा १९९५ मतगणना हुँदा किशोर सिंह राठौरले अग्रता लिएका छन् । उनले ११०३ मत पाउँदा देवराज चालिसेले ८४९ प्राप्त गरेका छन् । राठौर देउवा र चालिसे कोइराला समूहका हुन् । त्यसैगरी मुस्लिमतर्फ फर्मुल्लाह मन्सुरले अगरता लिएका छन् । १२५८ मतगणना हुँदा मन्सुरले ७२३ मत प्राप्त गरेका छन्भने शेख वकिलले ५२९ प्राप्त गरेका छन् । मन्सुर देउवा पक्षका हुन् ।

