मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

सरकारले पुस १ गते बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले बिभिन्न २० वटा निर्णय गरेको छ। तीन जनाको नेपाली नागरिकताको प्रमाण पत्र रद्ध गर्ने देखि सार्वजनिक विदा दिने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं संचार सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गरी जानकारी दिए ।



यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

सरकारले सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी नेपाली नागरिकताबाट हटाउने निर्णय

नेपाल राजस्व परामर्श विकास समिति सदस्य निर्मलहरी अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय

कोभिड – १९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर थप ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय

विनोदकुमार भट्टराईलाई नेपाल न्याय सेवा कानून समुहको राजपत्रांकित प्रथम श्रेणी र रामप्यारी सुनुवारलाई नेपाल न्याय सेवा न्याय समुहको राजपत्रांकित प्रथम श्रेणीको पदमा नियुक्ती गर्ने निर्णय

सत्यनिरुपण तथा मेलमिलाप आयोगको सिफारिस बमोजिम पूर्णप्रसाद पौडेलसहित २९ जना व्यक्तिहरुलाई २३ लाख २० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय

भारतीय सशस्त्र सिमा बलको १८ औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाललाई स्वीकृति दिने निर्णय

भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत गरिबी निवारण कोष अभिलेख व्यवस्थापन कार्यक्रम कार्यान्वयनका लागि पाँच जना अधिकृतहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने, भोटेओडार आँखा उपचार केन्द्र सुन्दर बजार लमजुङलाई भवन निर्माण गर्न एक रोपनी जग्गा लिज उपलब्ध गराउन स्वीकृति दिने र राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष नियुक्तीको लागि डा। दामोदर रेग्मीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय

नेपाली सेना सैनिक प्राविधिक सेवाका सहायक रथी हेगेन्द्रलाल महर्जन र महासेनानी खुमबहादुर कुँवर क्षेत्रीको पदावधि थप गर्ने, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको पहिलो संशोधन गठन आदेश २०७८ स्वीकृत गर्ने, नेपाली सेनाका सहायक रथी डा। अरुणकुमार न्यौपाने तथा चार सैनीक अधिकृतको बढुवा गर्ने तथा सहायक रथी सागरबहादुर केसीलाई अवकाशपूर्व उपरथी दर्जा मानार्थ बढुवा र महासेनानी खगेश्वर अर्यालको अवकाशपूर्व विशेष बढुवा गर्ने निर्णय

नेपाली सेनाका विभिन्न समुहका रथी, सहायक रथी र महासेनानीहरुको सरुवा गर्ने निर्णय

विभिन्न १३ वटा स्थानिय तहलाई विभिन्न परियोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृत दिने

लोकसेवा आयोगबाट सिफारिस भई आएका डा प्रज्वल श्रेष्ठसहित १० जना उम्मेदवारहरुलाई नेपाल स्वास्थ्य सेवाको ११ औँ तहको पदमा नियुक्ती गर्ने र शिक्षक सेवा आयोग ११ औँ संशोधन नियमावली २०७८ लाई स्वीकृत दिने निर्णय

नेपाल विद्युत प्राधिकरणलाई सुर्खेत बिजौरा ३३ केभि प्रसारण लाइन आयोजनाको पोल तथा राइट अफ वे संरचना निर्माण गर्नका लागि विरेन्द्रनगर नगरपालिका र बराहताल एवं पञ्चपुरी गाउँपालिकामा रहेको वन मन्त्रालयको १०.५२ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत प्रदान गर्ने निर्णय

आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही-ज्यापु दिवसको अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

 

 

 

 

सम्बन्धित समाचार