
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मतगणना शुक्रबारदेखि सुरु भएको छ । सबै पदाधिकारीको मतगणना सम्पन्न भएपछि सुरु गरिएको केन्द्रीय सदस्य प्रदेश नं २ (महिला) एक पदमा चित्रलेखा यादव विजयी भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
यादवले २,७३१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी गीता चौधरीले १,८८५ प्राप्त गरेकोको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । मतदानमा जम्मा चार हजार ६६२ मत खसेको र त्यसमध्ये ४६ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार प्रत्येक प्रदेशबाट तीन जनाका दरले निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये केन्द्रीय सदस्य प्रदेश नं २ का (पुरुष) दुई पदमा यसअघि नै रमेश रिजाल र आनन्दप्रसाद ढुङ्गाना निर्विरोध निर्वाचित भइसकेका छन् ।
शुक्रबार सबै पदाधिकारीको मतगणना सम्पन्न भएपछि सदस्यको मतगणना सुरु गरिएको हो । आइतबार बिहान १० बजेदेखि खुलातर्फका केन्द्रीय सदस्य ९३५० जनाको मतगणना सुरु हुने समितिले जनाएको छ । कांग्रेसको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएका थिए । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् ।

