
नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापति देउवा पक्ष हाबी भएको छ । शुक्रबार पदाधिकारीको मतगणना सकिएसँगै देउवा प्यानलको वर्चश्व देखिएको हो ।
देउवा पक्षबाट सभापतिसहित १३ पदाधिकारीमध्ये सभापति, १ उपसभापति र ६ सहमहामन्त्री गरी ८ पदाधिकारी विजयी भए । त्यस्तै डा शेखर कोइरालाको पक्षबाट १ उपसभापति, १ महामन्त्री र २ सहमहामन्त्री गरी ४ जना विजयी हुँदा प्रकाशमान सिंह समूहबाट १ महामन्त्री विजयी भए ।
सभापतिमा देउवाको प्यानलबाट उपसभापति पूर्णबहादुर खड्का निर्वाचित हुँदा सहमहामन्त्रीहरूमा खस–आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर, थारूतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी, मधेशीतर्फ सहमहामन्त्रीमा महेन्द्र यादव, मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मूल्लाहा मन्सुर, आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा भीष्मराज आङदम्बे र महिला क्लस्टरमा डीना उपाध्याय निर्वाचित भएका छन् ।
त्यस्तै कोइराला प्यानलबाट उपसभापतिमा धनराज गुरूङ, महामन्त्रीमा गगन थापा, दलित क्लस्टरको सहमहामन्त्रीमा जीवन परियार, र पिछडिएका क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित भए । प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित भए ।
काँग्रेसले महासमिति बैठकबाट आफ्नो विधानमा संशोधन गर्दै पदाधिकारीको संख्या १३ पुर्याएको थियो । संशोधित विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको व्यवस्था छ ।
काँग्रेसको महाधिवेशनमा भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएका थिए । काँग्रेस महाधिवेशन प्रतिनिधि (मतदाता) ४ हजार ७ सय ४३ रहेका छन् ।
केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला ९, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित ९, आदिवासी–जनजाति १५, खस–आर्य १३, मधेसी ९, थारू ४, मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १, अल्पसङ्ख्यकबाट १, अपाङ्गतताबाट १ सदस्य गरी कूल्ऽ १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने काँग्रेसको विधानको व्यवस्था छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनित गर्ने विधानमा उल्लेख छ ।
देउवा प्यानलबाट निर्वाचित भएका पदाधिकारीहरूः
सभापति : शेरबहादुर देउवा
उपसभापति : पूर्णबहादुर खड्का
सहमहामन्त्री : किशोरसिंह राठौर
सहमहामन्त्री : उमाकान्त चौधरी
सहमहामन्त्री : महेन्द्र यादव
सहमहामन्त्री : फर्मूल्लाहा मन्सुर
सहमहामन्त्री : भीष्मराज आङदम्बे
सहमहामन्त्री : डीना उपाध्याय
कोइराला पक्षबाट निर्वाचित भएका पदाधिकारीहरू :
उपसभापति : धनराज गुरूङ
महामन्त्री : गगनकुमार थापा
सहमहामन्त्री : बद्री पाण्डे
सहमहामन्त्री : जीवन परियार
प्रकाशमान सिंह समूहबाट निर्वाचित :
महामन्त्री : विश्वप्रकाश शर्मा

