नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ पुस ।
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा कार्डिजले रियललाई गोल रहित बराबरीमा रोकेको हो ।
रियलको घरेलु मैदानमा भएको खेलमा गोल गर्ने सुन्दर अवसर खेर फाल्दा रियल रेलिगेशन जोनमा रहेको कार्डिजसँग बराबरीमा चित्त बुझाउन बाध्य भयो । गोलरहित बराबरी खेलेसँगै रियलले सेभिलासँग ८ अंकको अग्रता लिने अवसर गुमाएको छ । कोरोना संक्रमणका कारण रियल रोजाईका ६ जना खेलाडीविनै मैदान उत्रेको थियो । ८२ प्रतिशत बल पोसेसन राखेको रियलले गोल गर्न भने सकेन ।
बराबरीसँगै रियल १८ खेलबाट ४३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने समान खेलमा १४ अंक जोडेको कार्डिज १९ औं स्थानमा रहेको छ । त्यसैगरी आइतबार राति नै भएको अन्य खेलमा एथलेटिक बिल्बाओले रियल बेटिसलाई ३–२ ले पराजित गरेको छ । जितसँगै बिल्बाओ १८ खेलमा २४ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ भने समान खेलमा ३३ अंक जोडेको रियल बेटिस तेस्रो स्थानमा रहेको छ । यस्तै अर्को खेलमा ग्रानाडाले मालोर्कालाई ४–१ले पराजित गर्दा र ओसासुना गेटाफेसँग १-० ले पराजित हुन पुग्यो ।